
नेपालमा पठनसंस्कृति बिस्तारै बढ्दै छ । हरेक पछिल्लो पुस्ता अघिल्लो पुस्ताको ज्ञान, क्षमता र स्तरभन्दा एक कदम अगाडि हुनैपर्छ र छ पनि । पठनसंस्कृति पनि यसअघिभन्दा बढेकै छ- गाउँतिर अलि कम, सहरतिर अलि बढी । तर, सहरमा पुस्तकको जसरी विज्ञापन गर्न थालिएको छ, देशैभरि त्यही स्तरमा पठनसंस्कृतिले भने व्यापकता पाएको छैन । तथापि, पुस्तकको व्यापार प्रवर्द्धन गर्नकै लागि पछिल्लो समयमा कतिपय प्रकाशन संस्था र पुस्तक व्यवसायी आपसमा प्रतिस्पर्धा गरिरहेका छन् । र, लेखक पनि छाप्नुअघि आफ्नो पुस्तकले बजारमा कत्तिको व्यापार गर्ला भनेर सोच्न बाध्य भएका छन् । पछिल्लो समयमा केही प्रकाशन संस्थाले 'राम्रा' पाठकका लागि 'राम्रा' लेखक र 'राम्रा' पुस्तकको छनोट गर्न थालेका छन् । यस्तैमा सांगि्रला बुक्सले छनोट गरेको छ- पत्रकार तथा युवा साहित्यकार आन्विका गिरीको कथासंग्रह 'कम्युनिस्ट' । प्रकाशन संस्था र कथाकार दुवैको पहिलो कृति हो यो ।
अहिले लेखिएका कथा-उपन्यास वा अन्य साहित्यिक कृतिले अहिलेकै सही यथार्थ नबोल्नु हाम्रो साहित्यको सबैभन्दा ठूलो विरोधाभास हो । आन्विकाका कथा त्यस बेमेलभन्दा टाढा छन् । उनका कथा पढिरहँदा अहिलेको युवा कुनै पात्र वा कुनै घटनासँग आफ्नो पनि सम्बन्ध थियो भन्ने अनुभूति गर्न सक्छ । उनले समकालीन नेपाली समाजका असंगति, दिन प्रतिदिन फेरिँदै गरेको सम्बन्ध, जनयुद्ध र राजनीतिक आन्दोलनले उधिनेको समाज र त्यसबाट सिर्जिएको संस्कृति, युवापुस्ताको नयाँ सोच, शिक्षित र सभ्य कहिलनेकै ढोङ र गाउँ-सहरमा विद्यमान अनेक विभेद एवं विसंगतिलाई सरल ढंगले कथामा आकार दिएकी छिन् ।
समाज राजनीति निरपेक्ष हुन सक्दैन । पछिल्लो समयमा नेपाली समाजका स्थापित मान्यता र परम्परागत धारणामा जनयुद्धले पर्याप्त हेरफेर गरिदियो । गिरीका केही कथा नेपाली जनयुद्धका विभिन्न सन्दर्भसँग पनि जोडिएका छन् । केही 'चालु' कथाकारले जनयुद्धको नकारात्मक चित्रण र अवमूल्यनमात्रै गरिरहेका वेला 'कम्युनिस्ट' कथासंग्रहका केही कथा सापेक्षमा जनयुद्धको सकारात्मक पाटोतिर केन्दि्रत छन् । जनयुद्ध र त्यसको प्रभावबारे कथाकार सन्तुलित देखिन्छन् । शीर्षकथा 'कम्युनिस्ट' ले माओवादी छापामार युवतीसँग भेटेर फर्केको गैरमाओवादी युवा पत्रकारको कसरी बिस्तारै माओवादी आन्दोलन र छापामार युवतीप्रति प्रेम बढ्दै गयो भन्ने कुरा एकदम स्वाभाविक र सटिक ढंगले बताउँछ । माओवादी जनयुद्धभित्रका प्रेम र सम्बन्धका अनेक पाटा अझै पनि साहित्यमा आउन नसकिरहेका वेला त्यस्तो साहित्य पढ्न चाहने पाठकलाई यो कथाले झन् तिर्खा जगाइदिन्छ ।
पहिलो कथा 'हिरोहोन्डा' ले उठाएको विषयले पुरुष सत्तावादी मानसिकता बोकेका पाठकको मगज रन्थनाउन सक्छ । एउटी सचेत र आत्मनिर्भर महिलाले कुनै पुरुषलाई औपचारिक श्रीमान् नमानीकन आफूखुसी आमा हुन पाउनुपर्छ भन्ने तर्कका पक्षमा कथाले आफूलाई उभ्याएको छ । कुनै पुरुषसँगको समागमबाट बच्चा जन्माएर आमा भएकी कथाकी मूलपात्रले बच्चाको बाउबारे सोधखोज गर्ने आफ्नी साथीलाई कडा स्वरमा भन्छे, 'म आमा भएको कुरामा गर्व गर्न चाहन्छु, तर तिमीहरू मलाई यति सजिलै गर्व गर्न दिन्नौ । ...तिमीहरू नयाँ कुरा पचाउन समय लिन्छौ । तर, म तिमीहरूसँग हार मान्नेवाला छैन । म यस समाजलाई एउटी आमाको पक्षमा झुकाएर छाड्छु ।' यो कथासंग्रहको सबभन्दा शक्तिशाली कथा हो । आख्यानकार नारायण ढकालका शब्दमा 'पुरुषलाई सातजुनीसम्म पुग्ने' श्राप छ यो कथामा । नेपाली आधुनिक कथामा आफूलाई 'अपडेट' राखिरहेका पाठकलाई संग्रहका अरू कथा सरदर लाग्छन् । झुर कथा लेखेर पनि कथाकार भइटोपल्नेका अगाडि भने आन्विकाका सबै कथा शक्तिशाली छन् भन्दा गल्ती हुने छैन । 'कामरेड ! नयाँ नेपालको कम्युनिस्ट हुन सकिनँ', 'ऊ र आमा', 'आडम्बर' सरदरभन्दा राम्रा कथा मान्न सकिन्छ । 'कम्युनिस्ट', 'हिरोहोन्डा' जस्ता ध्यान एकोहोर्याउने र पढ्दापढ्दै संवेदित तुल्याउने कथा पढेका पाठकलाई सबै कथाले उही गतिमा तान्दैनन् । कतिपय कथामा कथानक र प्रस्तुति कमजोर पनि लाग्छ । कुनै कथाले पाठकलाई अलमल्याउँछन् र कुनै विचारमा अस्पष्ट लाग्छन् । भाषा-सम्पादनमा पनि गहिरो गरी ख्याल नपुर्याइएको देखिन्छ ।
पत्रकारिता र राजनीतिको ऐनाः सुशीला भैरव
'असी वर्षे युवा पत्रकार'को परिचय बनाएका वरिष्ठ पत्रकार भैरव रिसालले एकासी वसन्त पार गरेपछि अर्को कृति 'सुशीला भैरव' प्रकाशनमा ल्याएका छन् । विगतको एक कृतिजस्तै यसपटक पनि धर्मपत्नी सुशीलासँगै संयुक्त लेखनमा सार्वजनिक भएका छन् उनी । यसअघि यो जोडीले 'लोग्नेस्वास्नी र केही मित्रहरूका चिठी' शीर्षकको संयुक्त कृति बजारमा ल्याएको थियो ।दाम्पत्य जीवनको ५० वर्ष पुगेको अवसर पारेर हालै प्रकाशनमा आएको 'सुशीला भैरव' रिसाल दम्पतीको संयुक्त आत्मवृत्तान्त हो । यद्यपि यसमा आफ्नाआफ्ना अनुभवलाई छुट्टाछुट्टै खण्डमा समेटिएको छ । चार सय ४० पृष्ठको यो पुस्तकमा सुशीला खण्डमा एक सय ४० पेज र भैरव खण्डमा तीन सय पेज छन् ।
समग्रमा यो पुस्तक भैरव दम्पतीको जीवनको भोगाइको सांगोपांगो हो भन्न मिल्छ । त्यस हिसाबले पक्कै पनि यसमा दुवैले भोगेका दुःखसुख र संघर्षका कथा समेटिएका छन् भनेर अनुमान लगाउन गाह्रो पर्दैन । तर, पुस्तक त्यतिमा मात्रै सीमित छैन, यसले तत्कालीन समाज र राजनीतिलाई बुझ्न पनि धेरै सजिलो बनाइदिएको छ । विषेशगरी सुशीला रिसालको अनुभवले त्यतिखेरको नेपाली समाज, त्यसमा पनि काठमाडौँको काँठको तस्बिर उतारेको छ । सँगसँगै आजको भैरव रिसाल त्यत्तिकै बनेको होइन, त्यसको पछाडि लामो संघर्षको कथा छ भन्ने छनक पनि त्यसमा समेटिएको छ ।
उता लामो समयदेखि पत्रकारिताको भट्टीमा खारिएका पत्रकार भैरव रिसालको अनुभवले त्यसबेलाको समाजिक मात्रै होइन, राजनीतिक अवस्थाको पनि पर्याप्त चित्रण गरेको छ । नेपाली पत्रकारिताको तस्बिरसमेत पुस्तकमा उतारिएको छ । राससका प्रमुख समाचारदाता रहेर काम गरिसकेका रिसाललेे पञ्चायतकालका नौजना प्रधानमन्त्रीको संगत गरेको चर्चा मात्रै गरेका छैनन् उनीहरूको मूल्यांकनसमेत गर्न भ्याएका छन् । तर, विवादमा आइएला भन्ने डरले हो कि किन हो पछिल्ला प्रधानमन्त्रीहरू कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, शेरबहादुर देउवा, पुष्पकमल दाहाल -प्रचण्ड) र माधव नेपालको चर्चा कम छ ।
कर्ण शाक्यको चर्चित भनिएको पुस्तक सोचको गर्भाधान आफूले गराएको 'खुलासा' गरेका छन्, लेखकले यस पुस्तकमा । यसको एकजना साक्षी यस पंक्तिकार भए पनि भैरव रिसाल स्वयंले मुख खोल्न अस्वीकार गरेकाले अरूको कलम चल्ने कुरा आएन । पुस्तकको 'भयंकर' चर्चा भइरहेको बेला मैले यो प्रसंग कोटयाएर पुस्तकमा भैरव दाइको नाम कतै रहेनछ भनेको थिएँ, तर उहाँले कुनै प्रतिक्रिया जनाउनुभएन । उहाँहरू दुवैको आत्मीयताका कारण पनि उहाँले त्यसो गर्नुभएको होला ।
सरल भए पनि यो पुस्तक अलि ठूलै लाग्छ । यसमा पढ्दै जाँदा राम्ररी काँटछाँट गरेको भए यति धेरै शब्दका भकारी खर्च गर्नुपर्ने थिएन कि भन्ने भान हुन्छ । पुस्तकको मुखपृष्ठमा शीर्षक सुहाउँदो तस्बिर छ, तर भित्र भने त्यस्तो छैन । प्रायः सबै फोटामा फोटाका बसाइ र क्याप्सन मिल्दैन । जस्तो, सँगै बसेको फोटामा पहिला ज्वाइँपछि छोरीे भए पनि क्याप्सनमा भने छोरीको नाम अगाडि छ । लामो समय छापामा काम गरेका भैरवदाइले क्याप्सनको मर्म नबुझेको भन्न मिल्दैन ।
पुस्तक छपाइको खर्च पितृऋण तिरेसरह छोराछोरीले व्यहोरेकाले पुस्तकको मूल्य राखिएको छैन । निःशुल्क पुस्तक छर्ने सोच पनि अलि बढी हो कि भन्न कर लाग्छ । लौ पुस्तक बेचेर घरखर्च चलाउन मन थिएन भने पुस्तक बेेचेको सबै रकम कुनै सामाजिक संघसंस्थालाई दिने घोषणा गरेको भए हुन्थ्यो कि ? बुहारी पढाउने छात्रावृत्तिदेखि चेपाङलाई रेडियो सुनाउन गल्ली चाहार्ने र हुम्लामा बत्ती बाल्न दाइजोको रकमसम्म माग्ने भैरवदाइलाई यो जुक्ति किन नफुरेको होला कुन्नि ?
आफ्नो नामपछाडि दाइ थपेको मन पराउने भैरवदाइको यो जोडीको पुस्तक लेख्ने बुढेसकालको तन्नेरी जाँगर लोभलाग्दो छ । पृथ्वीमा आएपछिका सकेसम्मका सबै कुरा यतै छाडेर जानुपर्छ भन्ने मान्यता राखेर आफ्नो शवसमेत त्रिवि शिक्षण अस्पताललाई संयुक्त रूपमा दान गरेको यो जोडीले अनुभवसमेत यतै छाड्ने प्रसंशनीय मेसो मिलाएको छ यस पुस्तकमार्फत ।
bharatraj_pokharel@yahoo.com