खोटाङमा प्रहरी चौकी आक्रमण गर्ने किराँत वर्कसका केन्द्रीय नेता पक्राउ
विराटनगर, जेठ ११सङ्खुवासभा तथा खोटाङको विभिन्न प्रहरी चौकीमा आक्रमण गरी विध्वंसात्मक क्रियाकलापमा लागेका किराँत जनवादी वर्कर्स पार्टीका एक केन्द्रीय नेतालाई प्रहरीले पक्राउ गरेको छ। बेल्टारका स्थानीय बासिन्दा रहेका सो पार्टीका केन्द्रीय सदस्य पम्प राईलाई प्रहरीले बेल्टारबाट पक्राउ गरेको बताइएको छ।
विशेष सूचनाका आधारमा पक्राउ परेका राईलाई पूर्व क्षेत्रीय प्रहरी कार्यालयमा थुनामा राखी अनुसन्धान भइरहेको बुझिएको छ। विवश विद्रोही केन्द्रीय अध्यक्ष रहेको सो पार्टीले भूमिगतरुपमा विभिन्न क्रियाकलाप सञ्चालन गरिरहेको छ। रासस
दार्जिलिङमा तनाव/ पाँच जना बढि भेला हुन निषेध
दार्जिलिङ, जेष्ठ ११दार्जिलिङमा स्थानीय प्रशासनले संविधानको १४४ धारा जारी गरेको छ । भारतीय संविधानको १ सय ४४ धारामा ५ जना भन्दा वढी मान्छे भेला हुन सख्त मनाही गरिएको छ ।
गोर्खा जनमुक्ति मोर्चा र सर्वसाधारणले मदन तामाङको हत्याको विरोधमा छुट्टा-छुट्टै स्थानबाट र्याली निकाल्न खोजेका थिए । तर, आपसी झडप हुन सक्ने बताउदै प्रशासनले र्यालीमा पनि रोक लगाएको छ । अहिले यहाँ सुरक्षा व्यवस्था कडा पारिएको छ । दार्जिलिङको सबै क्षेत्रमा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।
यसैवीच कालिम्पोङबाट फर्किदै गरेका मोर्चाका अध्यक्ष्ा विमल गुरुङलाई जोरवंगला भन्ने स्थानमा प्रहरीले रोकेर केरकार गरेको पत्रकार सञ्जय प्रधानले जानकारी दिए । गुरुङलाई प्रहरीले २ घण्टा पछि छाडेको थियो ।
गोर्खा लिग अध्यक्ष तामाङको अन्त्येष्टि
इलाम, जेठ १०। अखिल भारतीय गोर्खा लिगका अध्यक्ष मदन तामाङको दाहसंस्कार उनको जन्मथलो इलाम जोगमाई–३ मेघमामा सोमबार गरिएको छ। तामाङलाई अन्तिम श्रद्धाञ्जलिका लागि उनका कार्यकर्ता, शुभचिन्तक र इलामवासीको भिड लागेको थियो। तामाङको अन्तिम दाहसंस्कार जोगमाई–३ टङ्गलुमा बौद्ध परम्पराअनुसार गरिएको थियो।
तामाङलाई पश्चिम बङ्गालका गभर्नर एमके नारायणले सोमबार दिउँसो १२ बजे दार्जिलिङमा अन्तिम श्रद्धाञ्जलि अर्पण गरेका थिए।
यहाँको गान्धी रोडस्थित तामाङको निवासबाट विहान ८ वजे निस्किएको शव यात्रामा हजारौ स्थानीय सहभागि बनेका थिए । शव यात्राले वजार परिक्रममा गरेको थियो । लिगको केन्द्रीय कार्यालय र चौरस्ता वसेका सयौ सर्वसाधारणले तामाङको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलि अर्पण गरेका थिए ।
शव यात्रामा सिक्किम केन्द्रीय विश्वविद्यालयका उपकुलपति डा. महेन्द्रपी लामा, भारतीय गोर्खा परिसंघका केन्द्रीय महासचिव सुखमान मोक्तान, गोर्खे नेताहरु आरवी राई, दावा शेर्पालगायत सहभागि बनेका थिए । खर्साङ, मिरिक, सुकिया, कालिम्पोङ, सिलिगुडीलगायतका स्थानबाट उनको शव यात्रामा सहभागि वन्न आएका थिए ।
तामाङ हत्यापछि स्वतःस्फूर्त वन्द दार्जिलिङ चौथो दिन पनि ठप्प रह्यो ।
यसैवीच शव यात्रामा सहभागि वन्न आएका भारतीय गोर्खा परिसंघका केन्द्रीय महासचिव सुखमान मोक्तानले गोर्खा जनमुक्ति मोर्चाको युवा दस्ता जीएलपीलाई प्रतिवन्ध लगाउन वंगाल सरकारसंग आग्रह गरेका छन् । पत्रकारसंग उनले भने,'जीएलपीले हिंसा शुरु भएको छ यसलाई तत्काल प्रतिवन्ध लगाइनु पर्छ ।' मोक्तानले तामाङको हत्या जीएलपीबाटै भएको मोक्तानको दावी थियो । तामाङको शवयात्रामा हजारौं कार्यकर्ता, समर्थक र सर्वसाधारणको भिड लागेको थियो। तामाङको अन्तिम दाहसंस्कारमा सहभागी हुने इलामको जोगमाई, जमुना, माबु, माइमझुवा, प्याङ, नयाँबजार, गोर्खे, पशुपतिनगर, फिक्कल लगायत विभिन्न ठाउँबाट करिब एक हजारको सङ्ख्यामा सर्वसाधारण भेला भएका थिए।
अखिल भारतीय गोर्खा लिगले मदन तामाङको हत्या गोर्खा जनमुक्ति मोर्चाले गराएको दाबी गर्दै अदालतमा मोर्चाका अध्यक्ष विमल गुरुङ विरुद्ध मुद्दा समेत दर्ता गरिएको छ।
एकीकृत नेकपा माओवादी बाट गोर्खा लिगका अध्यक्षको हत्या'
यता गोर्खा जनमुक्ति मोर्चाका सचिव रोशन गिरीले भने आफूहरूलाई बदनाम गराउनका लागि तामाङको हत्या आफ्नो सङ्गठनले गराएको आरोप लगाइएको बताएका छन्। गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङले गोर्खा लिगका अध्यक्ष मदन तामाङको हत्या नेपाली माओवादीले गरेको दाबी गरेका छन् । वंगाल सरकारले तामाङको हत्याको आरोप लगाइरहेका वेला गुरुङले त्यस्तो दावी गरेका हुन् । 'नेपालका माओवादीले तामाङको हत्या गरेका हुन', गुरुङले भने,'घटनामा हाम्रो कुनै संलग्नता छैन ।' गुरुङले वंगालकै षड्यन्त्रमा नेपाली माओवादीले तामाङको हत्या गरेको जनाएका छन् । उनले गोर्खे-गोर्खेबीच लडाउने षड्यन्त्रमा वंगाल लागेको स्पष्ट पारेका छन् । गुरुङले तामाङको हत्याप्रति दुःख प्रकट गर्दै सीवीआई जाँच गर्न वंगाललाई माग गरेका छन् । यसैबीच वंगाल सरकारले मोर्चाका अध्यक्ष गुरुङ सहित १३ शीर्ष नेताहरु पक्राउ गर्न प्राथमिकी मुद्धा दर्ता गराएको छ । मोर्चाका महासचिव रोसन गिरी, नारी मोर्चाकी अध्यक्ष आशा गुरुङ, सहसचिव विनय तामाङ, प्रचारसचिव हर्क क्षेत्री, रमेश आले, प्रदीप प्रधान लगायतका नेतालाई पक्राउ गर्न मुद्धा दर्ता गरिएको हो । यसैबीच एकीकृत नेकपा माओवादी ले एक विज्ञप्ति जारी गरी तामाङको हत्यामा आफ्नो पार्टीको संलग्नता नरहेको स्पष्ट पारेको छ।
पार्टी प्रवक्ता दीनानाथ शर्माद्वारा आज जारी विज्ञप्तिमा एक दैनिक पत्रिकामा सो आसयको समाचार प्रकाशित भएकोमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ।