Thursday, May 20, 2010

अनिष्ट संकेत देखापरेको भन्दै जनजातिद्वारा संविधानसभा अगाडि आकस्मिक धर्ना

काठमाडौं, जेष्ठ ११ 
नेपाल आदिवासी जनजाति महासंघले संविधानसभा विघटन हुने अनिष्ट संकेत देखापरेको भन्दै मंगलबार दिउँसोदेखि आकस्मिक धर्ना सुरु गरेको छ ।
संविधानसभाको पश्चिमतर्फ महासंघका पदाधिकारीहरु धर्नामा बसेका छन् । संविधानसभा विघटन गरी मुलुक गम्भीर संकटमा पर्न लागेको भन्दै शान्ति र नयाँ संविधान प्राप्तिका लागि आगाडि अनिश्चितकालीन धर्ना सुरु गरिएको महासंघका अध्यक्ष राजकुमार लेखीले जानकारी दिए ।
महासंघको मंगलबार बिहान बसेको आकस्मिक बैठकले धर्ना दिने निर्णय गरेको थियो । संविधान बनाउनुपर्ने संविधानसभा विघटनको संघारमा पुग्नु अनिष्टको तयारी भएको भन्दै संविधानसभाको बचाउका लागि धर्ना दिने निर्णय गरेको लेखीले जनाएका छन् ।
संविधानसभा विघटन भए सबैभन्दा पीडित आदिवासी जनजाति, सीमान्तकृत, मधेसी, दलित र अल्पसंख्यक जाति नै बन्ने भएकाले संविधानसभा जोगाउन धर्ना सुरु गरिएको महासंघले जनाएको छ । महासंघले यसअघि पनि संविधानसभा विघटन हुनबाट जोगाएर अल्पकालका लागि म्याद थप्न आग्रह गरेको थियो ।
आदिवासी जनजाति महासंघले सुरु गरेको अनिश्चितकालीन धर्नामा सभासदहरु शान्ता चौधरी, टासी  गुरुङसेनी, सोनाम छेदुङ तथा राज्य पुनर्संरचना आयोगका अध्यक्ष गणेशमान गुरुङले पनि धर्नास्थलमा पुगेर ऐक्यवद्धता जनाएका छन् ।

No comments: